नेपाल न्युज प्वाइन्ट डटकम
धादिङको नीलकण्ठ र बेनीघाट रोराङ देशभरकै उत्कृष्ट

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । मुलुकभरका ७५३ स्थानीय तहबीच गरिएको मूल्यांकनमा धादिङका दुई पालिका फेरि पनि देशकै उत्कृष्ट बन्न सफल भएका छन् ।

नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका ९३.५० अंकसहित देशकै पहिलो स्थानमा आउन सफल भएको छ भने गाउँपालिकातर्फ धादिङकै बेनीघाट–रोराङ गाउँपालिका सर्वोत्कृष्ट घोषित भएको हो ।

शीर्ष तीनमा धादिङ, चितवन र रुपन्देहीका पालिका

मन्त्रालयले शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले उत्कृष्ट अंक प्राप्त गर्ने पालिकाको नाम सार्वजनिक गरेका हुन् ।

नगरपालिकातर्फ पहिलो स्थानमा धादिङको नीलकण्ठ नगरपालिका, दोस्रोमा चितवनको खैरहनी नगरपालिका र तेस्रोमा रुपन्देहीको तिलोत्तमा नगरपालिका परेका छन् ।

गाउँपालिकातर्फ धादिङको बेनीघाट–रोराङ पहिलो, गुल्मीको रुरुक्षेत्र दोस्रो र स्याङ्जाको अर्जुनचौपारी तेस्रो भएका छन् ।

मूल्यांकन कसरी हुन्छ ?

कार्यविधिअनुसार पालिकाहरूको १० वटा सूचकमा मूल्यांकन हुन्छ — शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना व्यवस्थापन, वित्तीय प्रणाली, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य–समन्वय ।

यी सबै सूचकमा पालिकाले आफैंलाई मूल्यांकन गर्ने र मन्त्रालयले सोही आधारमा प्रतिवेदन तयार गर्ने व्यवस्था छ । यस प्रणालीले पालिकाहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउने, सेवा प्रवाहमा सुधार ल्याउने र जनताप्रति जवाफदेही बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

c6305a1d-4be3-45c5-894f-29fbc250e6cd-1755931553.jpg
सम्मान र अनुभव आदानप्रदान

उत्कृष्ट ठहरिएका पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मन्त्रालयले विशेष कार्यक्रममा सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट पालिकाका प्रतिनिधिहरूले आफ्ना अनुभव र सिकाइ आदान–प्रदान पनि गरेका थिए ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना (नेपाली कांग्रेस) र उपप्रमुख दिपक विश्वकर्मा (माओवादी केन्द्र) छन् । ढुंगाना हाल नेपाल नगरपालिका संघका अध्यक्षसमेत हुन् ।
बेनीघाट–रोराङ गाउँपालिकाको नेतृत्व भने अध्यक्ष कृष्णबहादुर थपलिया (माओवादी केन्द्र) र उपाध्यक्ष टापबहादुर श्रेष्ठ (नेकपा–एकीकृत समाजवादी) ले गरिरहेका छन् ।

त्यस्तै, खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया (नेपाली कांग्रेस) र उपप्रमुख कविता उप्रेती (नेकपा एमाले) रहेका छन् ।

मन्त्री न्यौपानेको भनाइ

समारोहमा मन्त्री भगवती न्यौपानेले मुलुकको विकासका लागि तीनै तहको सरकार सक्रिय र चुस्त हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “अब हिँडेर मात्र पुग्दैन, हामीलाई दौडनुपर्ने हुन्छ । सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन स्थानीय तहहरूले थप जिम्मेवारीपूर्वक काम गर्नुपर्नेछ ।”

उनका अनुसार संघीय सरकारले राष्ट्रिय गौरवका आयोजना अघि बढाउने, प्रदेश सरकारले विकास निर्माणमा ध्यान दिने र स्थानीय तहले प्रत्यक्ष सेवाप्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेछ ।

नयाँ प्रणालीको सुरुवात

कार्यक्रमकै अवसरमा मन्त्रालयले नयाँ स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LG-PAS) को शुभारम्भ गरेको छ । यस प्रणालीले स्थानीय तहको कामलाई अझ नतिजामुखी र पारदर्शी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यस वर्षको मूल्यांकनमा ९० भन्दा बढी अंक ल्याउने पालिकाको संख्या ५ रहेको छ । उत्कृष्ट १० मा ७ नगरपालिका र ३ गाउँपालिका परेका छन् । महानगरपालिका र उपमहानगरपालिका भने यसपटक शीर्ष सूचीमा पर्न सकेनन् ।

नतिजाको महत्व

मन्त्रालयका अनुसार स्वमूल्यांकनको यो प्रक्रिया स्थानीय तहको संस्थागत सबलता मापन गर्ने मात्र नभई सुधारका क्षेत्र पहिचान गर्ने अवसर पनि हो । यसले पालिकाबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र अन्ततः नागरिकले गुणस्तरीय र चुस्त सेवा पाउने सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update