नेपाल न्युज प्वाइन्ट डटकम
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनीः लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरे ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ । यस क्रममा शून्य मात्रा भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकालाई पनि खोजी गरी खोप लगाइएको थियो ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै ड्रप आउट बाँकेमा ७ सय ६२, कपिलवस्तुमा ६ सय ५२ र रुपन्देहीमा ४ सय ४४ रहेको छ भने रुकुमपूर्वमा शून्य ड्रप आउट देखिएको छ । पूर्ण खोप अभियानअन्तर्गत २०८२ जेठ ८ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो । यसपछि क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रुपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र अन्त्यमा २०८२ असार २७ मा अर्घाखाँचीमा घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेशन गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको थियो ।

घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रित गरिनुपर्ने बताए । प्रदेश सरकारले लिएको लक्ष्य प्राप्तिका लागि प्रतिबद्धताका लाग्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ निरन्तर लागिरहन अनुरोध गरे ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले २०७९ भाद्र ३१ गते नेपालकै दोश्रो पूर्णखोप प्रदेश पहिलो पटक घोषणा भएको र त्यसपश्चात निरन्तर प्रत्येक वर्ष सुनिश्चितता तथा दिगोपना गर्दै आएको बताए । मातृमृत्यूदर, शिशुमृत्यूदर र पोषणलाई स्वास्थ्य मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउदै स्वास्थ्यका नकारात्मक सुचकहरुलाई न्यूनिकरण गर्ने विषयमा लुम्बिनी प्रदेशले प्रगति गरिरहेको स्पष्ट पारे ।

राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्राप्त प्रदेश भएको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा मुख्यमन्त्री आचार्य, स्वास्थ्य मन्त्री सारुलगायत सभागिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा अभियानलाई सहयोग गर्ने पाँच स्वास्थ्यकर्मी ओमप्रकाश पन्थी, दीपाकर कुमार महर्जन, जनकराज गिरी, चिन्तामणी ज्ञवाली र हरिप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update