नेपाल न्युज प्वाइन्ट डटकम
नख्खु कारागार पुगेर रविलाई भेटेपछि प्रचण्डले भने- 'दुब्लाउनुभएछ, अनुहारमै देखिन्छ'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागारमा पुगेर भेटेका छन् । प्रचण्डले बुधबार साँझ नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।

रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रवि भैरहवा कारागारमा हुँदा निकै पीडामा परेका कारण दुब्लाएको बताए । रविको अनुहार नै कमजोर देखिएको पनि उनले बताए ।

रविले भैरहवा कारागारको तुलनामा नख्खुमा अवस्था राम्रो भएको बताएको पनि प्रचण्डले उल्लेख गरे ।

भेटका क्रममा रविले आफूलाई अदालतले तोकेको बिगो बुझाउँदा पनि सुविधा नपाएको गुनासो सुनाएको प्रचण्डले जानकारी दिए ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार मात्रै रुपन्देही कारागारबाट नख्खु कारागार सारिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update