
काठमाडौं : गीतकार नारायण खतिवडाले हरितालिका तिजलाई व्यावहारिक र सांस्कृतिक दृष्टिले प्रस्तुत गर्ने उद्देश्यसहित नयाँ तिज गीत सार्वजनिक गरेका छन् । उनले गीतमा तिजको नाममा बढ्दो देखासिखीप्रति व्यङ्ग्य गर्दै वास्तविक रूपमा दु:खसुख गरेर तिज मनाउने महिलाप्रति सम्मान व्यक्त गरेका छन् ।
गीतलाई संगीतकार तथा गायक मनोज शानसोनले सङ्गीतबद्ध गरेका हुन् । मुख्य स्वर मैयाँ खड्काले दिएका छन् भने बिनुशा राई, मनमा राई, मनोज शानसोन र सुरेश राईको साथ रहेको छ ।
स्टुडियो किङ्ममा रेकर्ड गरिएको गीत नमस्ते नेपाल डिजिटल स्टुडियोमार्फत युट्युबसहित विभिन्न प्लेटफर्ममा सार्वजनिक गरिएको हो । भिडियोमा सहारा कोईराला, रन्जु मिश्रलगायतको अभिनय छ भने सन्जिला सुमित्राले कोरियोग्राफी गरेकी छन् । अर्जुन कटुवालले छायाङ्कन र विकास धमलाले सम्पादन गरेका भिडियो स्वयं गीतकार खतिवडाले निर्देशन गरेका हुन् ।