नेपाल न्युज प्वाइन्ट डटकम
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेकी छन् भने स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको अस्पताल स्रोतले बताएको छ ।

केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि निरौलालाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनको मस्तिष्कमा ट्युमर रहेको पुष्टि भएपछि चिकित्सकले तत्काल शल्यक्रिया गर्न सिफारिस गरेका थिए ।

अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो । शल्यक्रियापछि केही समय सघन उपचार कक्ष (आइसियू) मा राखिएकी निरौलालाई अहिले जनरल वार्डमा सारिएको छ र उनी स्वास्थ्यलाभ गरिरहेकी छन् ।

चलचित्र 'छ माया छपक्कै २' को छायांकनकै क्रममा दीपाश्रीलाई लगातार ढाड दुख्ने समस्या देखिएको थियो । सुरुमा सामान्य स्वास्थ्य समस्या ठानेर उनी माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा परीक्षणका लागि पुगेकी थिइन् । तर विस्तृत स्वास्थ्य परीक्षणपछि उनको मस्तिष्कमा ट्युमर रहेको पत्ता लागेको थियो ।

दीपकराज गिरीका अनुसार दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर करिब ४ सेन्टिमिटर आकारको थियो । न्युरोसर्जरीका दृष्टिले यस्तो आकारको ट्युमरलाई ठुलो मानिन्छ, किनभने मस्तिष्क खोपडीभित्र सीमित स्थानमा रहने भएकाले यति ठुलो ट्युमरले वरपरका महत्त्वपूर्ण भागमा दबाब सिर्जना गर्न सक्छ । यसले मस्तिष्कभित्रको चाप बढाएर विभिन्न गम्भीर लक्षण निम्त्याउने जोखिम रहन्छ ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update