नेपाल न्युज प्वाइन्ट डटकम
रचना रिमालको तिज कोशेली ‘नाचम बरिलै’

काठमाडौं : हिन्दु महिलाको महान पर्व हरितालिका तिजको अवसरमा मौलिक भाका र चेलीको मनोभावनालाई समेटेर ‘नाचम बरिलै’ बोलको नयाँ तिज गीत सार्वजनिक भएको छ । चर्चित गायिका रचना रिमालको स्वरमा सजिएको गीतको शब्द सर्जक तथा गीतकार प्रेम संगमले लेखेका हुन् ।

गत शुक्रबार प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा लय सिर्जना राजकुमार बगरले गरेका छन् भने संगीत संयोजन रमेश सेन्चुरीको छ । पछिल्ला वर्षमा तिज गीतहरूमा मौलिकता र सन्देशभन्दा भड्किलोपन बढी भएको आलोचनाबीच, ‘नाचम बरिलै’ ले नेपाली महिलाले भोग्ने दुःख, संघर्ष र भावनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

भिडियोमा वरिष्ठ कलाकार प्रेमदेब गिरी, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्ष हरिमाया कार्की, कलाकार लक्ष्मण लामिछाने र मोडेल लक्ष्मी गिरीको अभिनय तथा नृत्य देख्न सकिन्छ । निर्देशन चन्द्र ब. मन्दिरले गरेका छन् । छायांकन, सम्पादन र रंग संयोजन निर्मल प्याकुरेलको रहेको छ ।

पोस्ट–प्रोडक्सन कृपा एण्ड कृति प्रोडक्सन र श्रीनाथ फिल्म्स सुर्खेतबाट गरिएको हो । गीतकार प्रेम संगमका अनुसार, यो गीत तिजको मनोरञ्जन मात्र नभई, नेपाली हिन्दु महिलाको भोगाइ र सांस्कृतिक दस्तावेज पनि हो ।

गीत–भिडियोको उत्कृष्ट शब्द, संगीत र प्रस्तुतीकरणका कारण निर्माण पक्षले यसलाई यस वर्षको अब्बल तिज कोशेलीका रूपमा दर्शक–श्रोताले मन पर्ने विश्वास लिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update