नेपाल न्युज प्वाइन्ट डटकम
राजनीति घाटा नाफाको व्यापार होइन : मुख्यमन्त्री बानियाँ

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र  विकासको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिद्वारा हेटौंडामा आज आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई जनतालाई न्याय, शान्ति र विकासको अनुभूति दिलाउने गरी काम गर्ने बताए ।

राजनीति घाटा नाफाको व्यापार नभई सेवा, धर्म भएकाले आफू जनताको सेवामा समर्पित भई लागेको जनाउँदै मुख्यमन्त्री बानियाँले सत्य, न्याय र इन्साफ गरिब निमुखाको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

गरिब, विपन्न समुदायको पीडालाई आफूले नजिकबाट बुझेको बताउँदै मुख्यमन्त्री बानियाँले आफू मुख्यमन्त्री हुँदा प्राप्त हुने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिने घोषणा समेत गरे ।

कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री तथा कांग्रेसबाट मन्त्री भएका बिनाविभागीयमन्त्री शिवराज अधिकारी र खानेपानी, ऊर्जा तथा  सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई स्वागत तथा सम्मान गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update