नेपाल न्युज प्वाइन्ट डटकम
झलनाथलाई पार्टी छोड्न माधवको सुझाव, के भनेका थिए झलनाथले ?

विराटनगर : नेकपा एकीकृत समाजवादीभित्रको आन्तरिक विवाद सतहमा आएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनालप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी छाड्न सुझाव दिएका छन् ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले खनालको पछिल्लो अभिव्यक्तिले पार्टीको नैतिकता प्रश्नमा पारेको बताए । खनालले केही दिनअघि इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा "एमाले विभाजन गलत थियो" भन्ने अभिव्यक्ति दिएका थिए । यसलाई लिएर अध्यक्ष नेपालले भने, "त्यो हो भने पार्टीमा बस्ने कुनै ठाउँ छैन । नैतिक आधार छैन ।"

नेपालले खनालको नाम नलिइकनै भने, "उहाँ निर्णयको उल्लंघन गर्नेमा नम्बर एक हुनुहुन्छ । पार्टीबाट बिदा गरिनुपर्छ । खुरुक्क राजीनामा दिनुपर्छ ।"

खनालले २०७८ सालमा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए । उनले भनेका छन्, "एमालेमा जुन विद्रोह गरियो, त्यो पुष्टि नै भएन, गलत निर्णय थियो भन्ने ठाउँमा आइपुगेको छु ।"

पार्टी अध्यक्ष र सम्मानित नेताबीचको मतभेद माओवादी केन्द्रसँगको सम्भावित एकता प्रक्रियामा पनि देखिएको छ । यसले युवा र विद्यार्थी संगठनहरूमा समेत प्रभाव पार्न थालेको छ । दुबै पक्षले आ–आफ्नो गुट बनाएर गतिविधि गर्दै आएको बताइएको छ ।

अध्यक्ष नेपालले खनालको अभिव्यक्तिमा कुनै तुक नरहेको भन्दै यस्तो अभिव्यक्ति एआई प्रविधिबाट आएको हो कि भन्ने शंका पनि गरे । "अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर," उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update