नेपाल न्युज प्वाइन्ट डटकम
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित

काठमाडौं : रञ्जिता श्रेष्ठ चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको छ ।

बुधबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको महासचिव ठाकुरसिंह थारुले जानकारी दिए ।

यसअघि पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएपछि गत १० साउनदेखि लागू हुने गरी अध्यक्ष श्रेष्ठले बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् ।

यसअघि गत शुक्रबार नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समिति बैठक २४ घण्टाभित्र बोलाउन अल्टिमेटम दिएका थिए । तर, कार्यवाहक अध्यक्ष तोकेको पत्रमा कारण भने अध्यक्ष रञ्जिताले आफ्नो स्वास्थ्य अवस्थालाई देखाएकी थिइन् ।

आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको र पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णयमा भौतिक उपस्थिति सम्भव नभएको भन्दै रञ्जिताले बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update