
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकका एजेन्डा तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
साउन १६ गते शुक्रबारबाट स्थायी कमिटी बैठक सुरु हुँदैछ । स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा रिर्पोटिङ गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।
उनका अनुसार बैठकमा समाजवादी मोर्चाको कामकारबाही र विस्तारबारे पनि बैठकमा छलफल हुनेछ । पार्टीभित्रको मतभेद व्यवस्थापन र नेताहरुबीचको एकता सुदृढीकरण गर्ने विषयलाई पनि बैठकको एजेन्डा बनाइएको उनले बताए ।
प्रवक्ता सापकोटाले माओवादी केन्द्रसँग एकतामा आएकाहरुको कार्यविभाजन गर्नेबारे पनि बैठकमा निर्णय हुने जानकारी दिए ।