
काठमाडौं : बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ संसदीय दलको नेतामा विजयी भएका हुन् ।
प्रदेशसभा सचिवालय परिसरमा सम्पन्न मतदानमा कांग्रेसका ३७ जना सांसदमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मत मात्र पाए । १ मत बदर भएको थियो । यो निर्वाचन शतप्रतिशत मतदानसहित सम्पन्न भएको हो ।
यसअघि मंगलबार बानियाँ पक्षका सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्तावमाथिको मतदानमा पनि लामा अल्पमतमा परेका थिए । उक्त प्रस्तावमा बानियाँ पक्षका २२ सांसदले समर्थन जनाएका थिए भने लामाले १५ मत मात्रै पाएपछि उनले दल नेताको हैसियत गुमाएका थिए ।
दल नेताका लागि भएको यो प्रतिस्पर्धा बानियाँ र लामाबीच दोस्रोपटक भएको हो । सन् २०७९ सालको पुस १३ गते भएको अघिल्लो निर्वाचनमा बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाएका थिए । करिब दुई वर्षपछि आज पुनः आमनेसामने प्रतिस्पर्धा हुँदा बानियाँले नतिजा उल्ट्याउँदै बहुमतको साथ विजयी भए ।