नेपाल न्युज प्वाइन्ट डटकम
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारका काम कारबाहीका साथै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा पार्टीभित्रको लोकतन्त्रका विषयमा गम्भीर चासो व्यक्त गरे ।

नेता डा. कोइरालाले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति एक वर्ष बित्दासमेत कार्यान्वयन नहुनु सरकारको अक्षमता भएको बताए ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट पारित भएर राष्ट्रपति कार्यालयबाट पुनरावलोकनका लागि फिर्ता भएको सन्दर्भमा उनले ६ जना वरिष्ठ व्यक्तिहरूको परिषद्मा दुई वा तीन जनाले मात्रै निर्णय गर्न मिल्ने व्यवस्था ल्याउनु लोकतन्त्रका लागि अत्यन्तै खतरनाक रहेको र यो संविधानको मर्मको अपमान भएको उल्लेख गरे ।

उनले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत राष्ट्रिय सभाले विधेयक अगाडि बढाएको भन्दै चिन्ता व्यक्त गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका विषयमा उठेको प्रश्नमा उनले भेट नियमित राजनीतिक संवाद अन्तर्गत भएको दाबी गरे ।

लिचीबगान घुसकाण्डमा एक मन्त्रीले राजीनामा दिनुपरेको उदाहरण दिँदै उनले राजनीतिमा नैतिकताको अपरिहार्यता औंल्याए । पार्टीभित्र संसदीय दलको नेतृत्व फेर्ने बहसबारे कोइरालाले अहिलेसम्म आवश्यक संख्या नपुगेको उल्लेख गर्दै हतार नगर्नुपर्ने धारणा राखे ।

संविधान संशोधन वा पुनरावलोकनको प्रक्रिया अघि बढाउन पार्टीले बनाउने भनेको कमिटी अझै गठन नहुनु प्रति पनि उनले असन्तोष व्यक्त गरे । नेता डा. कोइरालाले वर्तमान सरकार २०८४ सम्म चल्नुपर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै अहिलेसम्मको अवस्था भने राम्रो नभएको उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update