नेपाल न्युज प्वाइन्ट डटकम
विद्यादेवी भण्डारी भन्छिन्- 'एमालेले मेरो पार्टी सदस्यता खारेज गर्न मिल्दैन'

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेले आफ्नो पार्टी सदस्यता खारेज गर्न नमिल्ने बताएकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले दलमा आबद्ध हुने संवैधानिक अधिकार भएको उल्लेख गर्दै एमालेले सदस्यता खारेज गर्न नमिल्ने बताएकी हुन् ।

एमालेको पार्टी सदस्य भएर काम गरेको ३५ वर्ष भइसकेको भण्डारीले बताइन् । राष्ट्रपति भएको समयसमेत जोड्दा ४५ वर्ष भइसकेको उल्लेख गर्दै भण्डारीले एमालेलाई थप बलियो बनाउन सक्रिय हुने दाबी गरेकी छिन् ।

उनले पार्टी राजनीतिमा फर्किने आफ्नो निर्णयबाट विचलित नहुने पनि बताइन् ।

'पार्टी हजारौँ सदस्यको रगत-पसिनाले बनेको हो म यो कुरा कुनै भावनामा भनिरहेको छैन । जबजले अगाडि सारेको पार्टी निर्माणमा अघि बढ्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गर्छु म मेरो कुरामा विचलित हुने छैन,' उनले भनिन्, 'निर्धक्क ढुक्क भएर रहन आग्रह गर्छु । जननेता मदन भण्डारीले उठाएका कुरा र जबजले नै एमाले मुलुकको स्थायी शक्ति बन्न सक्छ ।'

उनले पार्टीलाई थप सशक्त बनाउनु अबको दायित्व भएको पनि बताइन् । 'पार्टीलाई थप ‍सशक्त बनाउन सामाजिक ढंगले एकता र सुदृढ गर्नु दायित्व हाम्रै हो,' उनले भनिन्, 'यसका निम्ति हामी सबैको निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो । यसो हुँदा जनेता भण्डारीको विचारपालन र देशलाई समृद्ध बनाउन सकिन्छ ।'

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update