नेपाल न्युज प्वाइन्ट डटकम
पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो, राष्ट्रिय राजनीतिबारे छलफल भयो : भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिका बारेमा मात्रै छलफल भएको बताएकी छन् । आइतबार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा भएको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले आफ्नो पार्टीको सदस्यता नवीकरण पहिल्यै भइसकेको पनि बताइन् ।

नेकपा एमाले पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरुले पार्टीमा सक्रिय रुपमा फर्किएको घोषणा गरेकी भण्डारीबारे के गर्ने भन्नेबारेमा पार्टी अध्यक्षले छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । नेताहरुको सुझावपछि आइतबार दुई नेताबीच भेट भएको हो । 

उनले भनिन्, ‘राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुरा भयो । पार्टी सदस्यता नवीकरण पहिला नै भइसकेको छ ।’

पछिल्लो समय भण्डारीलाई एमालेमा सक्रिय रुपमा ल्याउनुपर्ने भन्दै पार्टीका नेताहरुले नै आवाज उठाइरहेका छन् । ओली पक्षधर नेताहरुले भने गौरवमय स्थानमा पुगिसकेको व्यक्तिलाई पार्टीमा सक्रिय भूमिकामा ल्याउन नसकिने बताइरहेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update