
काठमाडौं : भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ । शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर निवेदन दिएको हो ।
निवेदन दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताए । भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता निकायहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी भएको उनले बताए ।
२०४६ सालपछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरुसमेतको अनुसन्धान हुनुपर्ने माग गरिएको उनले बताए ।
अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको उनले बताए । मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको उनले बताए ।
अध्यक्ष लिङ्देनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरु उठेको बताए ।