नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछानेका पक्षमा झन्डै २५ लाख हस्ताक्षर संकलन, साउन ५ गतेदेखि घरदैलो अभियान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी मुद्दामा थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन गरेको जनाएको छ । 

बिहीबार पत्रकार सम्मेलनमार्फत रास्वपाले हस्ताक्षर अभियानका लागि अहिलेसम्म ६० लाख खर्च भइसकेको जानकारी दिएको हो ।

अभियानका संयोजक दीपक बोहोराका अनुसार, अपिल छपाइमा १७ लाख २० हजार, प्रचारमा तीन लाख ८० हजार, भोलिन्टियरको खाजा खर्चमा सातलाख ५० हजार खर्च भएको छ । उनले थप एक लाख हस्ताक्षर फारम छाप्न दिएको र अपिल पनि छपाइका लागि प्रेसमा रहेकाले थप खर्च हुने बताए ।

उनले एकजना ८० वर्षीय वृद्ध ७०० वटा हस्ताक्षर संकलन गरेर बुझाउनमात्र आएको बताए । विदेशमा भइरहेको हस्ताक्षरको तथ्यांक संकलन भइनसकेको उनको भनाइ छ ।

अब हस्ताक्षर अभियानलाई घरदैलो अभियान बनाउने पनि बोहोराले बताए । साउन ५ गतेदेखि वडा समितिमार्फत हस्ताक्षर संकलनका लागि घरदैलो अभियान सञ्चालन गरिने उनले बताए ।

बोहोराले संकलित तथ्यांक टुँडिखेल वा त्यस्तै स्थानमा सार्वजनिक गर्ने पनि जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update