
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन् ।
पार्टीको पेशागत तथा बुद्धिजीवि विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यतिका विषय आइसकेपछि प्रधानमन्त्रीले तत्कालै मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्नुपर्ने बताएका हुन् ।
महामन्त्री थापाले मन्त्री गुप्ताले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिनुपर्नेमा नदिएकोले प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।
बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताए । मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि अहिले चौतर्फी विरोध भइरहेको छ ।
महामन्त्री थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने बताउँदै यस विषयमा छानबिन हुनुपर्ने बताए ।