नेपाल न्युज प्वाइन्ट डटकम
जबज नेपाली माटोमै हुर्किएको मौलिक सिद्धान्त हो : भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) कि नेतृ विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को अन्तर्राष्ट्रियस्तरमा पनि तुलनात्मक रूपमा अध्ययन हुन जरुरी रहेको बताएकी छन्न् ।

मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबज नेपाली माटोमा हुर्किएको मौलिक सिद्धान्त र विचार रहेको बताइन् । उनले नेपालका शैक्षिक संस्थाहरूमा र अन्तर्राष्ट्रियस्तरमा समेत यसको अध्ययन, अनुसन्धान र छलफल हुन आवश्यक रहेको चर्चा गरिन् ।

‘जबज नेपाली माटोमा हुर्किएको आफ्नो मौलिक सिद्धान्त र विचार हो । यो सिद्धान्तमाथि नेपालमा रहेका उच्च शैक्षिक संस्थाहरुमा गहन अध्ययन, अनुसन्धान र छलफल हुन आवश्यक छ । साथै यस्ता विचारहरूको अन्तर्राष्ट्रियस्तरमा पनि तुलनात्मक रूपमा अध्ययन, अनुसन्धान हुनुपर्दछ । किनभने समाज रुपान्तरणका लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भनिन् ।

भण्डारीले ‘सर्वे भवन्तु सुखिनः’ को वैदिक मन्त्रले बोकेको सबैको सुख र कल्याणको भावना नै जबजको मूल मर्म भएको स्पष्ट पारिन् ।

‘हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ ले सबै मानिस सुखी र निरोगी होऊन भन्ने भावना प्रकट गरेको छ । जबजको मूल भावना पनि यही हो,’ उनले भनिन् ।

उनले वर्गीय शोषणको अन्त्य गरी सबै नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर सुनिश्चित गर्दै सुखी र समृद्ध बनाउनु नै जबजको लक्ष्य रहेको बताइन् ।

‘जबजले हिंसा र अधिनायकत्वबाट होइन, जनताको सहमति र लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्ने उत्कृष्ट राजनीतिक संस्कारलाई अंगीकार गरेको छ,’ उनले थपिन् ।

फाउन्डेसनद्वारा प्रकाशित ‘स्टेट, सोसाइटी एन्ड डेभलपमेन्टः पिएमपिडी पर्सपेक्टिभ्स’ नामक जर्नलको तेस्रो अङ्कको विमोचन गर्दै उनले यस्ता प्राज्ञिक प्रकाशनले जबजबारे थप अध्ययन, अनुसन्धान र विमर्श गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update