नेपाल न्युज प्वाइन्ट डटकम
सरकार भिजेको बिरालोको हालतमा छ : दाहाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले यथास्थिति भत्काउने र रूपान्तरणसहित समाजवादी क्रान्ति चाहेको बताएका छन् ।

निर्मल लामाको २५औं स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले माओवादीले गरिरहेको काममा प्रतिक्रियावादी र अवसरवादीहरूले घेराबन्दी गरिरहेको र भ्रम छरिरहेको बताए । उनले प्रतिक्रियावादी र अवसरवादीको षड्यन्त्रको विरुद्ध अविचलित भएर लाग्न नेता र कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका उपमहासचिव जनादर्शन शर्मालाई लक्षित गर्दै अध्यक्ष दाहालले पार्टीको महामन्त्री बन्न हतार नगर्न नेताहरूलाई सुझाव दिए । आफू तत्कालीन समयमा आइलागेर मोटो मसालको महामन्त्री बनेको र अहिले कसैलाई बन्छु भन्ने लागेको छ भने हतार गर्न आवश्यक नरहेको बताए ।

तत्कालीन अवस्थामा मोहन वैद्य ‘किरण’ ले आफूलाई महामन्त्री बन्न भन्दा पनि आफूले नमानेको दाहालले बताए । पार्टी विभाजन भएर मोटो मसाल, पातलो मसाललगायत तीन टुक्रा भएपछि आफू एउटा समूहको महामन्त्री बनेको उनले जिकिर गरे ।

माओवादी केन्द्रमा पनि महासचिव बन्नका लागि अघिल्लो महाधिवेशनमा नेताहरूले तछाडमछाड गरेका थिए । अहिले उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा दुवैले महासचिवको दाबी नछाडेपछि अन्नतः उछिट्टिएर देवप्रसाद गुरुङ बनेका छन् । महासचिव नबनाएको भन्दै अध्यक्ष दाहालसँग उपमहासचिव शर्माको सम्बन्ध सुमधुर छैन । शर्माले पार्टी नेतृत्वको कडा टिप्पणी गर्दै आइरहेका छन् ।

उनले पार्टी विभाजनको अभ्याससमेत गरेको चर्चा चलेको थियो । शर्मालक्षित गर्दै दाहालले मोटा मसाल, पातलो मसाल, चौथो महाधिवेशन हुँदै तीनवटा समूह बनेको र अहिले नै कोही साथीहरूलाई हतारो नगर्न बताए । यस्तै पाँचथरमा शनिबार नै आयोजित कार्यक्रममा अध्यक्ष दाहालले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरे ।

आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको बताउँदै यो सरकार आफ्नै कुकर्मको बोझले ढल्ने बताए । अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर सहभागी नहुने उनले दोहो¥याए । उनले पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न नेता कार्यकर्तालाई अनुरोध गरे ।

उनले अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको टिप्पणी पनि गरे । दुई तिहाइ सरकारको भिजेको बिरालोको हालत देखिरहेका बताउँदै अध्यक्ष दाहालले सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update