नेपाल न्युज प्वाइन्ट डटकम
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

चितवन : ६ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्य जस्तै छ ।

कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु पाँच लाख १५ हजार मात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा रु आठ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो ।

प्रतिवेदनअनुसार काठमाडौं महानगरको बेरुजु एक दशमलव ११ प्रतिशत अर्थात रु २५ करोड ७० लाख ३४ हजार, पोखरा महानगरको सात दशमलव ९८ प्रतिशत अर्थात रु ७९ करोड २३ लाख ७५ हजार रहेको छ । यस्तै वीरगञ्जको सात दशमलव १४ प्रतिशत अर्थात रु ५७ करोड ९४ लाख ८२ हजार, विराटनगरको ए दशमलव ०३ प्रतिशत अर्थात रु सात करोड ११ लाख ५३ हजार र ललितपुरको शून्य ४६ अर्थात रु चार करोड ५१ लाख बेरुजु छ ।

भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष २०७९/८० मा महानगरको बेरुजु विगतका वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/७८ मा पेश्कीबाहेक बेरुजुमा शून्य दशमलव २५ प्रतिशत  थियो ।

असुल गर्नुपर्ने बेरुजु पनि घट्ने क्रममा रहेको छ । महानगरपालिकाले बेरुजु नहुने गरी कार्यसम्पादनमा कडाइ गरेका कारण बेरुजु घटेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताइन् । उनले भनिन्, “ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो ।” 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update