काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र संशोधित विधानलाई अद्यावधिक गरेको छ ।
निर्वाचन आयोगको बैठकले महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय कार्यसमिति र संशोधित विधानसम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरेको थियो । महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
महाधिवेशन सम्पन्न भएपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते निर्वाचन आयोग पुगेर पार्टीको विधान संशोधन, महाधिवेशनबाट पारित राजनीतिक तथा समसामयिक राजनीतिक दस्तावेज र अन्य निर्णयहरू बुझाएको थियो । सोही क्रममा नयाँ नेतृत्व र विधानलाई पार्टीको आधिकारिक अभिलेखमा अद्यावधिक गर्न निवेदनसमेत दिइएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले आफ्नो पदाधिकारी वा नेतृत्वमा परिवर्तन गरे त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ । प्राप्त विवरण र आवश्यक कागजातका आधारमा आयोगले दल दर्ता किताबमा पदाधिकारी परिवर्तन तथा विधानसम्बन्धी विवरण अद्यावधिक गर्ने गर्छ ।


