भीमफेदी सडक दुर्घटना : प्रहरीलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण

भीमफेदी, मकवानपुर : मकवानपुरको भीमफेदी सडकखण्डमा बारम्बार भइरहेका सवारी दुर्घटना र दुर्घटनापछि घाइतेले तत्काल प्राथमिक उपचार पाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय समाजसेवी दीपेन्द्र थापा र नेपाल रेडक्रस सोसाइटीका अधिकृत सरोज थापाले इलाका प्रहरी कार्यालय भीमफेदीलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेका छन् ।

बिहीबार भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएको घटनाले सिंगो क्षेत्र शोकमा डुबेका बेला दुर्घटनापछिको उद्धार तथा प्राथमिक उपचारको आवश्यकतामाथि थप गम्भीर ध्यानाकर्षण भएपछि प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको हो । भीमफेदी सडकखण्डमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति एक दिनको घटना मात्र नभई पटक–पटक दोहोरिँदै आएको समस्या हो ।

दुर्घटनामा परेका घाइतेहरू तत्काल प्राथमिक उपचार नपाएर छटपटाइरहेको अवस्थालाई नजिकबाट देखेपछि आफूहरूलाई केही गर्नुपर्छ भन्ने महसुस भएको स्थानीय समाजसेवी दीपेन्द्र थापाले बताए ।

उनले दुर्घटनामा घाइते भएका व्यक्तिहरू आफ्नै आँखाअगाडि पीडाले छटपटाइरहेको देख्दा मन भक्कानिने गरेको उल्लेख गर्दै सामान्य प्राथमिक उपचार सामग्रीसमेत उपलब्ध नहुँदा समयमै सहयोग गर्न कठिन हुने अवस्थाले आफूलाई निकै दुःखी बनाएको बताए ।

'आफ्नै आँखाअगाडि दुर्घटनाका घाइतेहरू छटपटाइरहेको देख्दा मन भक्कानिन्छ । तत्काल सामान्य प्राथमिक उपचारसमेत दिन नसक्ने अवस्था देख्दा निकै पीडा हुन्छ । कम्तीमा आपत्कालीन अवस्थामा घाइतेलाई प्रारम्भिक उपचार दिन सकियोस् भन्ने उद्देश्यले प्रहरी कार्यालयलाई प्राथमिक उपचार सामग्री उपलब्ध गराएका हौं,' थापाले बताए ।

उनका अनुसार दुर्घटना जहाँसुकै र जुनसुकै समयमा हुन सक्ने भएकाले उद्धारमा खटिने प्रहरीसँग आवश्यक प्राथमिक उपचार सामग्री उपलब्ध हुनु अत्यन्त आवश्यक छ ।

समाजसेवी दीपेन्द्र थापा र नेपाल रेडक्रसको अधिकृत सरोज थापाले इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख सनम मल्ललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरणका क्रममा नेपाल रेडक्रस सोसाइटीका अधिकृत सरोज थापाले प्राथमिक उपचार सामग्रीको उपयोगिता, यसको सही प्रयोग तथा दुर्घटनामा घाइते भएका व्यक्तिलाई अस्पताल पुर्‍याउनुअघि दिनुपर्ने आधारभूत प्राथमिक उपचारबारे जानकारी गराएका थिए ।

623661e3-1180-41b2-94e3-f06496a093bb-1794574104.jpg
 

उनले दुर्घटनापछि गरिने प्रारम्भिक प्राथमिक उपचारले घाइतेको अवस्था थप जटिल हुन नदिन र जीवन रक्षामा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । विशेषगरी दुर्घटनास्थलमा सबैभन्दा पहिले पुग्ने प्रहरी जनशक्तिसँग प्राथमिक उपचार सामग्री र त्यसको प्रयोग सम्बन्धी आधारभूत ज्ञान हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

सामग्री ग्रहण गर्दै इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख सनम मल्लले सहयोगप्रति खुसी व्यक्त गरे । उनले प्राप्त सामग्रीको उचित संरक्षण र आवश्यकताअनुसार प्रयोग गरिने बताउँदै आपत्कालीन अवस्थामा यसले प्रहरीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भीमफेदी सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी निगरानी, सवारी साधनको नियमित प्राविधिक परीक्षण, चालकको जिम्मेवारी र ट्राफिक नियमको कडाइका साथै दुर्घटनापछिको उद्धार तथा प्राथमिक उपचार व्यवस्थालाई पनि प्राथमिकता दिन आवश्यक देखिएको छ ।

जोखिमपूर्ण सडकखण्डमा प्राथमिक उपचार सामग्रीसहितको व्यवस्था, तालिमप्राप्त जनशक्ति, एम्बुलेन्स सेवा र तत्काल उद्धार गर्न सक्ने संयन्त्रको विकास गर्न सके दुर्घटनापछिको मानवीय क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्न सक्छ ।

दुर्घटना रोक्नु सबैभन्दा ठुलो जिम्मेवारी हो, तर दुर्घटना भइहाले घाइतेको जीवन बचाउनु पनि उत्तिकै महत्वपूर्ण मानवीय दायित्व हो । एउटा सामान्य प्राथमिक उपचार बाकसले मात्रै सबै समस्या समाधान गर्न नसके पनि सही समयमा सही तरिकाले प्रयोग हुन सके कसैको अमूल्य जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

भीमफेदी सडकमा अब दुर्घटनापछि शोक र समवेदना व्यक्त गर्ने अवस्थाको अन्त्य गर्दै दुर्घटना रोकथाम, तत्काल उद्धार र जीवनरक्षाको भरपर्दो व्यवस्था निर्माण गर्नु आजको आवश्यकता बनेको सरोकारवालाहरूको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update