भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि झन्डै ५ अर्ब डलर आवश्यक

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा गएको विपद्पछि पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन् ।

शुक्रबार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा उनले विपद्‍बाट भएको भौतिक र आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब १० प्रतिशत रहेको जानकारी दिँदै सो रकम व्यवस्थापनका लागि सरकारले चरणबद्ध कार्ययोजना अघि बढाएको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी–पहिरोले २.७ देखि २.८ अर्ब डलर बराबरको क्षति पुर्‍याएको उल्लेख गर्दै ‘बिल्डिङ ब्याक बेटर’ (थप समृद्ध पूर्वाधार निर्माण) को अवधारणाअनुसार पुनर्निर्माणमा ठुलो लगानी आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भएको १८ अर्ब रुपैयाँ संकलनलाई सरकारप्रति जनताको उच्च विश्वासको कडीका रूपमा अर्थमन्त्रीले अथ्र्याए । उनले उक्त रकम जथाभावी नबाँडी कार्यविधि र आवश्यकताका आधारमा खर्च गरिने स्पष्ट पारे । 

बजेट व्यवस्थापनका सम्बन्धमा उनले चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्बको बजेट सीमा नाघ्ने गरी पूरक बजेट ल्याउनुभन्दा मौजुदा विनियोजनबाटै बजेटको पुनःप्राथमिकीकरण गरी काम गर्ने तयारी रहेको बताए । पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने र आवश्यकता परे आगामी वर्षको बजेटमा पुनर्निर्माणलाई प्राथमिकताका साथ समावेश गरिने उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update