मेरा हातहरू सफा छन्, गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन् । उनले आफ्नो नैतिकता र इमानदारीमाथि प्रश्न उठाउनेभन्दा पनि सम्बन्धित विषयमा सही ठाउँमा प्रश्न गर्न आग्रह गरेका छन् ।

बिहीबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको स्पष्ट पारेका हुन् ।

‘ढुक्क हुनुहोस्, मेरा हातहरू सफा छन् । गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौं,’ उनले भनेका छन् ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नाम जोडेर सार्वजनिक भएको अडियोबारे प्रतिक्रिया दिँदै थापाले त्यसको सत्यतथ्य आफूलाई जानकारी नभएको बताए । उक्त अडियो कहाँ, कसले, कहिले र किन बोलेको हो भन्ने स्पष्ट नभएको उल्लेख गर्दै उनले बोलेको हो वा बोलाइएको हो भन्नेसमेत यकिन नभएको बताए ।

सापकोटाले भनेको विषयकै आधारमा आफूले जवाफ दिइरहन आवश्यक नरहेको उनको भनाइ छ । यद्यपि, सार्वजनिक रूपमा उठेका प्रश्नबारे केही कुरा स्पष्ट पार्नुपर्ने भएकाले भिडियो सन्देश जारी गरेको उनले बताए ।

थापाले पार्टीको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी प्रक्रियामा कुनै पनि प्रकारको आर्थिक लेनदेन नभएको दाबीसमेत गरे । ‘हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन भएको छैन,’ उनले भने ।

उनले विशेष महाधिवेशनलाई पार्टीका तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहका रूपमा व्याख्या गरेका छन् । कार्यकर्ताले परिवर्तनको उद्देश्यसहित विद्रोह गरेको उल्लेख गर्दै त्यसबाट आउन सक्ने परिणामको चिन्ता लिएर आन्दोलन नगरिने उनको तर्क छ ।

विशेष महाधिवेशन र त्यसपछि विकसित राजनीतिक तथा कानुनी विवादको विषयमा राम्रोसँग अनुसन्धान हुनुपर्नेमा जोड दिँदै थापाले अनुसन्धानबाट वास्तविकता बाहिर आउने विश्वास व्यक्त गरे ।

‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धानले दूधको दूध, पानीको पानी छुट्याउँछ । हामी त्यसकै प्रतीक्षामा छौँ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update