काठमाडौं : जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको कर्णालीले निर्धारित १९.१ ओभरमा अल आउट हुँदा एक सय ३३ रनको लक्ष्य दिएको थियो । जवाफमा जनकपुरले १९.२ अल आउट हुँदा मात्र ११३ रन बनायो ।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । माइन अली र हरमित सिंहले समान १९–१९ रनको योगदान दिए । जिमी निसमले १५ रन तथा मयन यादवले १४ रन बनाए । यसबाहेक जनकपुरका अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।
कर्णालीका लागि युनिस ठाकुर र हुसेन तलतले समान ३–३ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो ।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे ।
जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि दुई विकेट हात पारे ।



