काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि पटक–पटक समय तोकिए पनि आवश्यक तयारी पूरा हुन नसकेपछि निर्वाचन समितिले मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
बिहान १० बजेका लागि तय गरिएको मतदानको समय तीनपटक सार्दै दिउँसो साढे २ बजेसम्म पुर्याइएको थियो । तर, तोकिएको समयमा पनि मतदान सुरु हुन सकेन । त्यसपछि निर्वाचन समितिले बिहीबारका लागि अर्को समय नतोकी मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सञ्चालन गर्ने तयारी गरिएको छ । निर्वाचन प्रक्रियामा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण मतदान सुरु गर्न ढिलाइ भएको बताइएको छ ।
निर्वाचन प्रक्रियाका लागि ठूलो संख्यामा मतपत्र छपाइ गर्नुपर्ने भएकाले पनि समय लागेको जनाइएको छ । २३ प्रकारका मतपत्र आवश्यक पर्ने र करिब ७ हजार ८ सयका दरले मतपत्र छपाइ गर्नुपर्ने भएकाले करिब दुई लाख मतपत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको निर्वाचन प्रक्रियासँग सम्बन्धित पदाधिकारीहरूले बताएका छन् ।
त्यस्तै, मतपत्र तथा निर्वाचन सामग्रीको छानबिन, आवश्यक दस्तखत र अन्य प्राविधिक प्रक्रियामा समेत समय लागेको जनाइएको छ । करिब ३२ जना वरिष्ठ अधिवक्ताबाट दस्तखत गराउनुपर्ने भएकाले त्यसमा पनि समय लागेको बताइएको छ ।
निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काका अनुसार विभिन्न प्राविधिक र व्यवस्थापकीय कारणले बिहीबार मतदान सुरु गर्न नसकिएको हो । उनले महिला, बालबालिका तथा अन्य प्रतिनिधिलाई समेत लामो समयसम्म कुर्नुपर्दा असहज अवस्था सिर्जना भएकाले मतदान शुक्रबार बिहानबाट सुरु गर्ने निर्णय गरिएको बताए ।
निर्वाचन समितिका राजु कटुवालका अनुसार शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गराउने तयारी गरिएको छ ।
सात प्रदेशको छुट्टाछुट्टै स्थानमा मतदानको व्यवस्था मिलाइएको छ भने एकपटकमा २५० जनाले एकै पटक मतदान गर्ने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ ।
मतदान प्रक्रिया एक दिन लम्बिएसँगै नेपाली कांग्रेसको १५औं महाधिवेशन पनि एक दिन लम्बिएको छ । महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइ तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतिनिधिहरूलाई थप आर्थिक भार नपर्ने गरी पार्टीले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिएका हुन् ।
उनका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, निर्वाचन प्रक्रिया एक दिन लम्बिएपछि प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँ, खानपिन तथा होटल व्यवस्थापनको खर्च पार्टीले नै व्यहोर्नेछ ।
प्रतिनिधिहरूलाई कुनै समस्या परेमा सम्बन्धित क्षेत्रीय समितिको सिफारिसका आधारमा खर्च व्यवस्थापन गरिने पनि जनाइएको छ । प्रतिनिधिहरूका लागि होटल तथा खानपिनको आवश्यक व्यवस्था पार्टीले गर्ने बताइएको छ ।
मतदान सम्पन्न भएपछि खर्च व्यवस्थापनका लागि काउन्टरसमेत राख्ने तयारी गरिएको कांग्रेसले जनाएको छ । प्रतिनिधिहरूलाई करिब तीन दिनसम्म आवश्यक सहजीकरण तथा खर्च व्यवस्थापनको व्यवस्था मिलाइने बताइएको छ ।


