काठमाडौं : प्राकृतिक प्रकोप तथा देशव्यापी निरन्तरको वर्षाका कारण नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन ढिला गरी आगामी असोज १८ गतेदेखि प्रारम्भ हुँदै छ । यसअघि असोज १६ गतेका लागि निर्धारित उद्घाटन कार्यक्रम निरन्तर वर्षाका कारण असोज १८ गतेका लागि तय गरिएको हो । महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारीहरू अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता एवं १५औं महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले जानकारी दिएका छन् ।
महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको जानकारी दिए । तयारीका लागि विभिन्न १५ वटा समितिहरू बनेर काम गरिरहेका छन् । महाधिवेशनको उद्घाटन सत्र र बन्द सत्र खुलामञ्चमा सञ्चालन हुने गरी तीव्र गतिमा मञ्च तथा विभिन्न हलहरूको निर्माण भइरहेको छ भने कार्यक्रम स्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिनेछ ।
प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक-एक जना संयोजक तोकेको छ । प्रतिनिधिहरूका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा बसोवासको प्रबन्ध मिलाइएको छ । आवास र आवतजावतको खर्च सहभागी स्वयंले बेहोर्ने व्यवस्था गरिएको छ भने भोजनालयको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको प्राकृतिक विपद् तथा असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षाका कारण ठुलो जनधनको क्षति भएकाले पार्टीले महाधिवेशनका नाममा कुनै पनि तामझाम वा तडकभडक नगर्ने निर्णय गरेको छ । कार्यक्रम स्थलमा एउटा मूल गेट बाहेक शहर-बजारमा अन्य कुनै प्रचार सामग्री नटाँगिने भएको छ ।
यसको सट्टा असोज १५ देखि काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा रहेका करिब १०० वटा डिजिटल बोर्ड मार्फत महाधिवेशनका सूचना तथा सन्देशहरू प्रवाह गर्न सुरु गरिएको छ । साथै, निर्वाचनमा उम्मेदवार हुनेहरूलाई पनि प्रचारप्रसारका लागि डिजिटल माध्यम मात्र प्रयोग गर्न पार्टीले आग्रह गरेको छ ।
यस महाधिवेशनमा नेपाली कांग्रेसको इतिहासमै पहिलोपटक सबैभन्दा धेरै अर्थात् सात हजार सात सय भन्दा बढी प्रतिनिधिहरू निर्वाचित भएर सहभागी हुँदैछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्द सत्र र असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ ।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईको सहभागिता निश्चित भइसकेको छ ।
यस्तै, अन्तर्राष्ट्रिय अतिथिहरूमध्ये सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् । महाधिवेशनका सूचनाहरू अद्यावधिक रूपमा सम्प्रेषण गर्न भोलिदेखि हरेक दिन मिडिया सेन्टरबाट निरन्तर पत्रकार सम्मेलन गरिने प्रवक्ता चालिसेले जानकारी गराएका छन् ।


