काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण विशिष्ट व्यक्तिहरू (भिआइपी)लाई पक्राउ गर्ने क्रम रोक्न सरकारलाई चेतावनी दिएका छन् । उनले यस्तो प्रवृत्ति जारी रहे सरकार आफैंले ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले सरकारको नियतमाथि प्रश्न उठाएका हुन् । 'यदि छोरी पिटेर बुहारी तर्साउने जस्तो नियत हो भने त्यो अन्ततः सरकारकै लागि घातक हुन्छ,' उनले भने ।
उनका अनुसार पछिल्लो समय ‘सुरक्षा थ्रेट’ भन्दै गरिएको पक्राउ औचित्यहीन देखिएको छ । उक्त दाबीलाई उनले बहानाबाजीको संज्ञा दिँदै वास्तविक सुरक्षा जोखिम भए सुरक्षाकर्मीको संख्या बढाएर व्यवस्थापन गर्नुपर्ने तर्क गरे । 'यदि साँच्चै सुरक्षा खतरा थियो भने पक्राउ गर्नुको साटो सुरक्षा व्यवस्था कडा बनाउनु उपयुक्त हुन्थ्यो,' उनले भने ।
यस्ता घटना पुनः नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराउँदै उनले तथ्य क्रमशः बाहिर आउने बताए ।
अर्कोतर्फ, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले व्यक्त गरेको धारणा सन्दर्भमा प्रचण्डले त्यसलाई स्वाभाविक प्रतिक्रिया दिएका छन् । अहिलेको परिस्थितिमा प्रधानमन्त्रीले उठाएका विषय उपयुक्त रहेको उनको भनाइ छ ।


