नेपाल न्युज प्वाइन्ट डटकम
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यो जितसँगै नेपालले कम्तीमा कास्य पदक सुनिश्चित गरेको हो ।

समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल सुरुदेखि नै लयमा देखिएको थियो । पहिलो हाफमा १९–१३ को अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि १५–१२ ले बाजी मार्दै सहज जित निकाल्यो ।

यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार व्यहोरेको थियो । समूह ‘बी’बाट नेपाल र चाइनिज ताइपेइ सेमिफाइनलमा पुगेका हुन् ।

सेमिफाइनलमा पुगेसँगै नेपालले कम्तीमा कास्य पदक पक्का गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

यसअघि १९औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । यसपटक त्यस उपलब्धिलाई सुधार गर्ने लक्ष्यमा टोली अघि बढेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update