कुनै देशको भविष्य कस्तो हुन्छ भन्ने कुरा हेर्न त्यहाँका अग्ला भवन, फराकिला सडक वा चम्किला सहर मात्र हेर्नुपर्दैन, त्यो देशका विद्यालयका कक्षाकोठा हेरे पुग्छ । कक्षाकोठामा विद्यार्थीले के सिकिरहेका छन्, उनीहरूलाई कस्तो सोच दिइँदै छ र पढाइ सकेपछि उनीहरूले आफ्नो ज्ञानलाई कहाँ प्रयोग गर्न सक्छन्, यसैबाट देशको भोलि कता जाँदै छ भन्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा शिक्षा लिने क्रम, विद्यालय र कलेजको संख्या बढेको छ । हरेक वर्ष हजारौं विद्यार्थीले प्रमाणपत्र हातमा लिन्छन् । तर प्रश्न अझै उही छ–हामीले प्रमाणपत्र त उत्पादन गरिरहेका छौं, तर त्यसलाई उत्पादनशील जनशक्तिमा बदल्न किन सकिरहेका छैनौं ? हाम्रो शिक्षा प्रणाली धेरै हदसम्म थेउरीमा सीमित भएको छ । किताबका पाना र उत्तरपुस्तिका भरिएका छन्, तर विद्यार्थीको हातमा सीप कति आयो र पढेको कुरा देशमा प्रयोग गर्न कति सिक्यो, यी प्रश्नको उत्तर खोज्ने बेला आएको छ ।
पढाइ भयो, तर प्रयोग कहाँ भयो ?
विद्यालयमा कृषि पढाइन्छ तर माटो छुन सिकाइँदैन । विज्ञान पढाइन्छ तर प्रयोगशालासँग सम्बन्ध कमजोर हुन्छ । पर्यटन पढाइन्छ तर आफ्नै गाउँका पर्यटकीय सम्भावना चिनाइँदैन । जलस्रोतको चर्चा हुन्छ तर आफ्नै वरिपरि बगिरहेको खोलाको सम्भावना बुझाइँदैन । विद्यार्थीले बर्सौंसम्म किताबमा नेपालको भूगोल, हिमाल, पहाड र तराईका विशेषता कण्ठ गर्छ । तर उसले आफ्नो ठाउँको माटो कस्तो छ, कुन बाली वा जडीबुटी राम्रो हुन्छ, कुन ठाउँ पर्यटकीय गन्तव्य बन्न सक्छ र कुन खोलाबाट ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने कुरा व्यवहारमा सिक्न पाउँदैन ।
पढाइ सकिएपछि हातमा प्रमाणपत्र आउँछ, तर रोजगारी सिर्जना गर्ने सीप नहुन सक्छ । यहीँबाट हाम्रो शिक्षाको ठुलो चुनौती सुरु हुन्छ । नेपाल सानो देश भए पनि प्राकृतिक सौन्दर्य, हावापानी, वनजंगल, जडीबुटी, जलस्रोत र सांस्कृतिक विविधताका हिसाबले धनी छ । तर हामीले यी सम्भावनालाई शिक्षासँग जोड्यौं कि जोडेनौं ? अब शिक्षा प्रणालीले ‘नेपालमा के छ ?’ र ‘त्यसलाई उपयोग गर्न विद्यार्थीलाई के सिकाउने ?’ भन्ने प्रश्न सोध्नुपर्छ ।
जहाँ कृषि सम्भावना छ, त्यहाँ शिक्षालाई कृषिसँग जोडौं । माटो परीक्षण, आधुनिक खेती, उत्पादनको बजार र कृषि उद्यमबारे व्यवहारमै सिकाइयोस् । जहाँ पर्यटनको सम्भावना छ, त्यहाँ इतिहास, संस्कृति, पदमार्ग, होमस्टे, भाषा र व्यवस्थापन सिकाइयोस् । जहाँ नदी र जलस्रोत छन्, त्यहाँ जलविद्युत् र वातावरण संरक्षणलाई प्राथमिकता दिइयोस् । अनि जहाँ वन र जडीबुटी छन्, त्यहाँ प्रशोधन र उद्यमशीलता सिकाइयोस् । काठमाडौंमा बनाइएको एउटै ढाँचाको शिक्षा देशभर जबर्जस्ती लागू गर्ने होइन, भूगोल र स्थानीय आवश्यकताअनुसार शिक्षालाई रूपान्तरण गर्ने समय आएको छ ।
ठाउँअनुसार शिक्षा र आवश्यकताअनुसार सीप
नेपालको ठाउँअनुसार फरक–फरक कृषि, पशुपालन वा पर्यटनको सम्भावना छ । त्यसैले सबै विद्यार्थीलाई एउटै ज्ञान मात्र दिएर पुग्दैन । शिक्षा स्थानीय हुनुपर्छ, तर सोच विश्वव्यापी हुनुपर्छ । विद्यार्थीले आफ्नो गाउँको सम्भावना बुझोस् र संसारसँग प्रतिस्पर्धा गर्न सक्ने ज्ञान तथा प्रविधि प्रयोग गर्न सकोस् । उसले रोजगारी खोज्ने मात्र होइन, आफ्नै ठाउँमा काम सिर्जना गर्ने क्षमता विकास गरोस् । हामीले केवल ‘जागिर खोज्ने’ होइन, ‘काम सिर्जना गर्ने’ शिक्षा दिनुपर्छ ।
आज धेरै युवाको हातमा प्रमाणपत्र छ, तर क्षमता र व्यावहारिक ज्ञानको दूरी ठुलो छ । पढाइ छ तर काम गर्ने आत्मविश्वास कम छ । यही कारण धेरै युवा पढाइ सकेपछि आफ्नो भविष्य खोज्दै विदेशतिर लागिरहेका छन् । विदेश जानु आफैंमा गलत होइन, तर देशभित्र सम्भावना हुँदाहुँदै बाध्यतामा बिदेसिनुपर्ने अवस्था सोच्ने विषय हो । यदि शिक्षाले गाउँकै सम्भावना देखाएर कृषि, पर्यटन, जलस्रोत वा प्रविधिलाई उद्यमसँग जोड्न सक्यो भने प्रमाणपत्र बोकेर अवसर खोज्ने हातहरू नै अवसर सिर्जना गर्ने हात बन्न सक्छन् ।तर शिक्षा केवल
सीप र रोजगारी मात्र होइन, मानिस बनाउने प्रक्रिया पनि हो । बच्चालाई गणित, विज्ञान र अंग्रे्रेजी सिकाउँदा उसलाई अभिभावकको सम्मान गर्न, श्रमको मूल्य बुझ्न, प्रकृतिलाई माया गर्न, अनुशासन र जिम्मेवारी पूरा गर्न कति सिकायौं ? डिग्री भएको मानिस शिक्षित हुन सक्छ, तर संस्कार भएको मानिस मात्र समाजका लागि उपयोगी हुन्छ । त्यसैले पाठ्यक्रममा श्रमको सम्मान, इमानदारी, सहकार्य र वातावरणप्रतिको संवेदनशीलताजस्ता संस्कारलाई ठाउँ दिनुपर्छ । किताबले ज्ञान, अभ्यासले सीप र संस्कारले चरित्र बनाउँछ ।
ज्ञान अब व्यवहारमा उतारौं
अब विद्यालयको अर्थ चारवटा पर्खालभित्र बसेर किताब पढ्नु मात्र हुनु हुँदैन । कृषि पढ्ने विद्यार्थी खेतमा जाओस्, पर्यटन पढ्ने पर्यटकीय क्षेत्रमा पुगोस्, वातावरण पढ्ने जंगल र नदीसँग परिचित होस् र प्रविधि पढ्नेले वास्तविक समस्या समाधान गरोस् । विद्यालय र समाजबीचको दूरी घट्नुपर्छ । स्थानीय किसान, उद्यमी, व्यवसायी, प्राविधिक र कलाकारहरू विद्यालयसँग जोडिएर आफ्ना व्यावहारिक ज्ञान बाँड्न सकून् ।
नेपाललाई परिवर्तन गर्न केवल नयाँ सडक र भवन पर्याप्त हुँदैनन्, मानिसको सोच र क्षमता परिवर्तन गर्नुपर्छ । सरकारले पाठ्यक्रम समयअनुकूल बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्ने, स्थानीय तहअनुसार पाठ्यक्रम विकास गर्ने र शिक्षालाई उत्पादनसँग जोड्ने काम गर्नुपर्छ । यस्तो शिक्षा चाहिन्छ जहाँ प्रमाणपत्रसँगै सीप, सिर्जनशीलता, उद्यमशीलता र संस्कार होस् ।
निष्कर्ष : देशको भविष्य कक्षाकोठाबाट
हामीसँग हिमाल, नदी, उर्वर भूमि, जडीबुटी, संस्कृति र मेहनती युवा छन् । यी सम्भावनालाई जोड्ने पुल नै व्यावहारिक र संस्कारयुक्त शिक्षा हो । हामीले अब यस्तो शिक्षा दिनुपर्छ, जसले गाउँ छाड्न मात्र होइन, गाउँ बनाउन पनि सिकाउँछ । यसले आफ्नै देशमा सपना देख्ने विश्वास जगाउँछ र हातमा सीप तथा मनमा जिम्मेवारी दिन्छ । किनकि देश परिवर्तन गर्ने शक्ति संसद् वा सरकारमा मात्र होइन, विद्यालयको बेन्चमा बसेको विद्यार्थीभित्र हुन्छ ।
आजको कक्षाकोठामा जे सिकाउँछौं, भोलि देशले त्यही परिणाम भोग्नेछ । त्यसैले प्रश्न ‘कतिजनाले सर्टिफिकेट पाए ?’ भन्ने होइन, ‘कतिजनाले सीप, संस्कार, रोजगारी र देश बनाउने विश्वास पाए ? भन्ने हुनुपर्छ । जुन दिन किताबको ज्ञान खेतको माटोसँग, प्रयोगशालाको विज्ञान उद्योगसँग, पर्यटनको पाठ गन्तव्यसँग र शिक्षाको अर्थ संस्कारसँग जोडिनेछ, त्यही दिन नेपालको वास्तविक शैक्षिक क्रान्ति सुरु हुनेछ । त्यो दिन शिक्षा देश बनाउने वास्तविक आधार बन्नेछ ।


