काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रुपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् ।
उनका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बाहिर रहेका १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन् । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए ।
उनले वडा तहको अधिवेशन असोज ३ र ४ गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताए । उनले केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौंको खुला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यहीँ आयोजना गर्ने निर्णय भएको बताए । उनले महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद, सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको बताए ।
कांग्रेसले १६ देखि १९ असोजसम्म १५औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ । पार्टीले यसअघि नै गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रुपमा अद्यावधिक नभएकाहरुलाई समेत महाधिवेशनमा सहभागि गराउने निर्णय गरिसकेको छ ।


