नेपाल न्युज प्वाइन्ट डटकम
भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन र कारवाही गर्न गगन थापाको माग

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका हिंसा, दमन तथा सार्वजनिक संरचना ध्वंसका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

बिपी स्मृति दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै थापाले दुवै दिनका घटनाको सत्य तथ्य सार्वजनिक नगरेसम्म राज्य जवाफदेही बन्न नसक्ने बताएका हुन् । उनले सरकारले प्रतिबद्धता जनाएअनुसार अनुसन्धान कहाँ पुग्यो भन्ने प्रश्नसमेत गरेका छन् ।

सभापति थापाले भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको राज्य दमन तथा आन्दोलनभित्र घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने बताए ।

उक्त घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गरी दमन र हिंसामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

थापाले भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र ध्वंसबारे समेत निष्पक्ष तथा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए ।

त्यस दिन आफ्नो घरसमेत जलेको स्मरण गर्दै उनले व्यक्तिगत क्षतिभन्दा आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका युवाको पीडा ठूलो रहेको उल्लेख गरे ।

नागरिकको आक्रोश र आवेगमा व्यक्त प्रतिक्रियालाई सङ्गठित अपराधसँग एउटै रूपमा हेर्न नहुने थापाको भनाइ छ ।

‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ,’ उनले भने, ‘तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन । उसले दण्ड पाउनुपर्छ ।’

उनले नागरिकको आवेगलाई प्रयोग गरी हिंसा र ध्वंस मच्चाउने व्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।

सरकारले भदौ २४ गतेका घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले अनुसन्धानको प्रगति सार्वजनिक गर्न माग गरे ।

भदौ २३ गते दमन गर्ने, आन्दोलनमा घुसपैठ गरेर हिंसा भड्काउने तथा भदौ २४ गते आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी कारबाही गरेपछि मात्र राज्य जबाफदेही बन्ने बाटोमा अघि बढ्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update