नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन

काठमाडौं : बाढीका कारण प्रभावित भएको आपूर्ति व्यवस्थापछि काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव न्यूनीकरण गर्न सरकारले विशेष व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।

अब उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डर सोही मूल्यमा साटेर ग्यास लिन सक्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगलाई आवश्यक व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।

मन्त्रालयका अनुसार हाल बाढीका कारण उत्पन्न भएको आपूर्ति असहजताका बीच उपभोक्तालाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था गरिएको हो ।

उपभोक्ताले आफ्नो नियमित ब्रान्डको ग्यास नपाएको अवस्थामा अर्को कम्पनीमार्फत ग्यास प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

सरकारले यो व्यवस्था हालका लागि काठमाडौं उपत्यकामा मात्र लागू हुने जनाएको छ । आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किएसम्म उपभोक्ताले खाना पकाउने ग्यासको अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले वैकल्पिक वितरण प्रणाली अपनाइएको मन्त्रालयको भनाइ छ ।

मन्त्री यादवले विपद्को परिस्थितिलाई अवसरका रूपमा प्रयोग गरी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक सास्ती दिने वा सरकारी निर्देशनको अवज्ञा गर्ने व्यवसायी तथा सम्बन्धित पक्षमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएकी छन् ।

सरकारले आपूर्ति व्यवस्थालाई नियमित र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सक्रिय रहन निर्देशन दिँदै ग्यास वितरणमा देखिन सक्ने अवरोध तत्काल हटाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update