नेपाल न्युज प्वाइन्ट डटकम
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को कार्यालयमा सोमबार खोलिएको बोलपत्रमा सबैभन्दा बढी रकम प्रस्ताव गर्दै नेट टिभीले ओटिटी प्लेटफर्मतर्फको प्रसारण अधिकार आफ्नो नाममा पारेको हो । कम्पनीले करबाहेक १८ करोड ४ लाख रुपैयाँको प्रस्ताव पेस गरेको थियो। यस प्रतिस्पर्धामा सहभागी अर्को कम्पनी डिगो स्ट्रिमले १७ करोड रुपैयाँ प्रस्ताव गरेको थियो । ओटिटी अधिकारका लागि यी दुई कम्पनी मात्रै प्रतिस्पर्धामा रहेका थिए ।

क्यानले ओटिटी प्लेटफर्मलाई विभिन्न क्षेत्रअनुसार सदस्यता शुल्क निर्धारण गर्ने अधिकारसमेत दिएको छ । जसअनुसार नेपालभित्र करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकमा ६ सय रुपैयाँ र अन्य देशहरूमा १० अमेरिकी डलरसम्म शुल्क लिन सकिनेछ ।

यसैबीच, एनपिएलको टेलिभिजन प्रसारण अधिकार भने हिमालय स्पोर्ट्स (हिमालय टिभी)ले हात पारेको छ । कम्पनीले करसहित १७ करोड २४ लाख रुपैयाँको (करबाहेक १४.५६ करोड) बोली लगाउँदै यो अधिकार सुरक्षित गरेको हो ।

हिमालय स्पोर्ट्सले विज्ञप्ति जारी गर्दै एनपिएलजस्तो ठुलो प्रतियोगिताको प्रसारण अधिकार प्राप्त गर्नु गर्वको विषय भएको जनाएको छ । कम्पनीका अनुसार यसपटकको प्रस्तावित रकम गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो र तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा पनि धेरै उच्च रहेको छ ।

कम्पनीले एनपिएललाई क्षेत्रकै महत्वपूर्ण खेलकुद सम्पत्तिका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्दै नेपाल क्रिकेट संघको पहलप्रति पनि भरोसा प्रकट गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update