काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ ।
भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुलाई त्यहाँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत सिधै चोभार ल्याउन सकिने व्यवस्था गरेको हो । विभागले सामान ढुवानी गर्ने सवारीसाधनका लागि सडक मार्गसमेत निर्धारण गरेको छ ।
विभागका अनुसार भन्सार नियमावलीमा तोकिएका सर्त, प्रक्रिया तथा अन्य व्यवस्था पालना गर्ने गरी आन्तरिक परिवहनको सुविधा दिइएको हो । यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू हुनेछ ।
यससँगै कोरला नाकाबाट भित्रिएका सामान मुस्ताङ भन्सार कार्यालयमै जाँचपास गर्नुपर्ने बाध्यता हटेको छ। निर्धारित प्रक्रिया पूरा गरेर सामान चोभार सुक्खा बन्दरगाहसम्म ल्याई जाँचपास गर्न सकिनेछ ।
विभागले मालवाहक सवारीसाधनका लागि कोरला नाकादेखि चोभारसम्मको मुख्य सडक मार्ग तय गरेको छ ।
कोरलाबाट प्रवेश गरेका मालवाहक सवारी नेचुङ-छुसाङ-कागबेनी-जोमसोम-बेनी-कुस्मा-पोखरा-दमौली-मुग्लिङ-कुरिनटार-नौबिसे-कलंकी हुँदै चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्नुपर्नेछ ।
मुख्य रुटमा समस्या आएमा मालवाहक सवारीले वैकल्पिक मार्ग प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्ता सवारी मुग्लिङ-नारायणघाट-हेटौँडा-भैंसे-नौबिसे- कलंकी-चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न सक्नेछन् ।
गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि भने तत्काललाई हेटौँडातर्फको रुट निर्धारण गरिएको छ ।
प्रलयकारी बाढीले रसुवागढी नाका तहसनहस बनाएपछि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ । कोरलाबाट हुने आयातलाई सहजीकरण गर्न विभागले आन्तरिक परिवहन र चोभारमा जाँचपासको व्यवस्था मिलाएको हो ।


