काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवामा आएको विनाशकारी बाढीको दीर्घकालीन समाधानका लागि जनपरिचालन अनिवार्य रहेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई बारम्बार जनशक्ति परिचालनमा जोड दिन आग्रह गरेको जानकारी दिए।
उनका अनुसार बाढीपछिको उद्धार तथा राहतमा सुरक्षा निकाय सक्रिय भए पनि व्यापक जनसहभागिता नहुँदा समस्या समाधान प्रभावकारी बन्न सकेको छैन। “सेना परिचालन भएको छ, तर जनपरिचालन भएको छैन। जबसम्म जनपरिचालन हुँदैन, समस्याको वास्तविक समाधान सम्भव हुँदैन,” उनले संसद्मा भने।
प्रचण्डले तीनै तहका सरकार—संघ, प्रदेश र स्थानीय—सहित जनप्रतिनिधि, नागरिक समाज र सर्वसाधारणलाई एकीकृत रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। यस्ता महाविपत्तिमा समन्वयको अभावले समस्या झन् जटिल बन्ने उनको भनाइ थियो।
यसैबीच उनले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना ले खेलेको भूमिकाको प्रशंसा गर्दै जोखिमपूर्ण अवस्थामा समेत उद्धार र राहत कार्यमा सक्रिय रहेको उल्लेख गरे। “सेनाले जोखिम मोलेर गरेको काम प्रशंसनीय छ, हामी सबैले धन्यवाद दिनुपर्छ,” उनले भने।
संसद्मा सम्बोधनका क्रममा प्रचण्डले प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। संसद्भित्र पर्याप्त समन्वय र विश्वासको वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले सबै सांसदलाई विश्वासमा लिनुपर्ने आवश्यकता औंल्याए।
“प्रधानमन्त्री आउनुहुन्छ, ब्रिफिङ गर्नुहुन्छ र जानुहुन्छ। तर कसैसँग संवाद गर्ने प्रयास देखिँदैन। संसद्लाई विश्वासमा लिनु भनेको केवल प्रतिपक्षलाई होइन, आफ्नै दलका सांसदलाई समेत हो,” उनले भने।
उनले संकटको बेला सरकारको उपस्थित प्रत्यक्ष रूपमा देखिनुपर्ने बताउँदै केवल सामाजिक सञ्जालमा सक्रिय हुनु पर्याप्त नहुने टिप्पणी गरे। “सोसल मिडियामा पोस्ट गरेर चुनाव जित्न सकिन्छ, तर संकट समाधान हुँदैन,” उनले स्पष्ट पारे।
देश अहिले संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रचण्डले सबै राजनीतिक शक्ति र नागरिकबीच एकता अपरिहार्य भएको बताए। यस्तो बेला प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर विश्वास निर्माण गर्नुपर्ने उनको भनाइ छ।
“विपत्तिमा राष्ट्र एकजुट देखिनुपर्छ। त्यो एकता स्वतः आउँदैन, नेतृत्वले निर्माण गर्नुपर्छ,” उनले भने, “प्रधानमन्त्रीले सबैको विश्वास जित्न सकेनन् भने समयले कसैलाई पनि पर्खँदैन।”


