काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्तामा रहेको भन्दै आन्तरिक विवादको समाधान विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने बताएका छन् ।
महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह सर्वोच्च अदालत पुगेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै चालिसेले पार्टीको नेता अदालतबाट नभई अधिवेशनबाट चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । ‘कांग्रेसको नेता को हो ? अब अदालतले तोक्नु पर्ने ? अधिवेशन रोक्ने निवेदन ?’ उनले प्रश्न गरेका छन् ।
प्रवक्ता चालिसेले विशेष वा नियमित जुनसुकै अधिवेशन भए पनि पार्टीको नेतृत्व लोकतान्त्रिक विधिबाट चयन हुनुपर्ने बताएका छन् । पार्टीभित्र विश्वास गुमाएपछि अदालतबाट समाधान खोज्ने प्रवृत्ति उचित नभएको उनको धारणा छ । ‘दलभित्र विश्वास गुमाउने अनि त्यसपछि अदालत ? यो शैलीले दललाई न्याय गर्दैन,’ चालिसेले भनेका छन् ।
पार्टीको राजनीतिक विचार तथा कार्यक्रमसँग सम्बन्धित फरक मत लोकतान्त्रिक व्यवस्थामा स्वाभाविक हुने उल्लेख गर्दै उनले त्यस्ता विचारलाई पार्टीले ग्रहण गर्न सक्नुपर्ने बताएका छन् । तर, पछिल्लो असन्तुष्टि व्यक्तिगत राजनीतिक भविष्यमा केन्द्रित रहेको उनको दाबी छ ।
‘पार्टीभित्र नेताहरूको निजी राजनीतिक भविष्य र पार्टीको भविष्य फरक विषय हुन् । पार्टीका शुभचिन्तकहरूले व्यक्ति होइन, पार्टीलाई मद्दत गरिरहेका हुन्छन्,’ उनले लेखेका छन्, ‘पार्टीप्रति जनताले राखेको भरोसा र विश्वासलाई नेताले थप मजबुत बनाउने हो । त्यसलाई कमजोर बनाउने, सार्वजनिक विश्वासघात गर्ने कार्य अक्षम्य हुन्छ ।’
चालिसेले कानुनी विवादको निरूपण अदालतबाट हुने भए पनि पार्टीको नेतृत्वसम्बन्धी निर्णय कार्यकर्ताको मतबाट हुनुपर्ने बताएका छन् ।
‘कानूनी विवादको फैसला अदालतको इजलासले गर्ला, त्यो आफ्नो ठाउँमा छ,’ उनले लेखेका छन्, ‘तर लाखौँ कार्यकर्ताको मतको इजलासले गर्ने फैसला अदालतभन्दा शक्तिशाली हुन्छ ।


