नेपाल न्युज प्वाइन्ट डटकम
मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचेकोप्रति रास्वपा सांसद आचार्यको आपत्ति

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमा–बुबाको भिडियो गृह मन्त्रालयमा खिचिएको प्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिने र आरोपितका कुरा सार्वजनिक गर्ने काम बन्द गरिनुपर्ने बताए ।

‘गरिमा हत्याकाण्डका बारेमा जे भयो, त्यसका बारेमा धेरै बोलिनँ । तर, हामी सबै जनाले मनन गर्नुपर्नेचाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौँ ? जहाँ मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । र, कहीँ मेडिकल गर्दैगर्दा एउटा अक्युज्ड (आरोपित)ले बोलेका कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ,’ उनले भने ।

गत ३१ साउनको बिहान जितपुर सिमरा उपमहानगरपालिका– १ की तीन वर्षीया बालिका गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

गरिमाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपित व्यक्तिको घटनाबारे बताएको भिडियो सार्वजनिक भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update