नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसले संसद्‍मा जनसरोकारका विषयहरूलाई थप प्रभावकारी रूपमा उठाउँछ : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले संसद्‍मा जनसरोकारका विषयहरूलाई थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’ कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिपक्षको भूमिकामा रहेको पार्टीले आफ्नो संसदीय जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने बताएका हुन्।

सभापति थापाका अनुसार संसद्‍मा प्रभावकारी उपस्थिति जनाउन र नीतिगत विषयमा स्पष्ट धारणा बनाउन यस्ता बौद्धिक छलफलहरू अत्यन्त आवश्यक छन्। उनले प्रतिपक्षमा रहँदा पार्टीका निश्चित उत्तरदायित्वहरू हुने उल्लेख गर्दै ती जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न गहन अध्ययन र बहस अपरिहार्य रहेको बताए।

उनले कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूलाई समसामयिक र नीतिगत विषयमा सुसूचित हुन आग्रह गर्दै यस्ता कार्यक्रमहरूले ज्ञान, दृष्टिकोण र विश्लेषण क्षमतामा वृद्धि गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार बौद्धिक बहसले पार्टीभित्र नयाँ सोच विकास गर्न र कार्यकर्ताहरूको जिज्ञासा बढाउन महत्वपूर्ण भूमिका खेल्छ।

कार्यक्रममा उठाइएका विषयवस्तु र प्राप्त सुझावहरूलाई आगामी दिनमा संसदमा लैजाने पनि उनले जानकारी दिए। यसले नीति निर्माण तथा जनसरोकारका मुद्दामा पार्टीको प्रस्तुति अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update