नेपाल न्युज प्वाइन्ट डटकम
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अनुमोदन गरेपछि शाहीले सरकार सञ्चालनका लागि संवैधानिक आधार पाएका हुन् ।

४० सदस्यीय प्रदेश सभाको बैठकमा ३६ जना सांसद सहभागी थिए । मतदानमा मुख्यमन्त्रीको पक्षमा २१ मत परेको थियो भने १३ सांसदले विपक्षमा मतदान गरेका थिए। दुई सांसद तटस्थ बसेका थिए ।

सरकार गठनका लागि आवश्यक २१ सांसदको समर्थन शाहीले मतदानबाटै प्राप्त गरेका छन् । कर्णाली प्रदेश सभामा सत्तारुढ नेकपाका १४ र नेकपा (एमाले)का १० गरी २४ सांसद छन्, जसमा एमालेका सभामुखसमेत समावेश छन् ।

नेपाली काँग्रेसका १५ सांसद छन् । यसबाहेक नेकपा परित्याग गरेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद प्रदेश सभामा रहेका छन् ।

प्रदेश सभाकी सभामुख नन्दा गुरुङले विश्वासको मत प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको घोषणा गर्दै मुख्यमन्त्री शाहीले विश्वासको मत हासिल गरेको जानकारी दिइन् ।

नेकपा (एमाले)को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका प्रदेश संसदीय दलका नेता शाही गत १२ साउनमा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update