नेपाल न्युज प्वाइन्ट डटकम
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयबारे जानकारी दिएका हुन् ।

बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारी तथा शिक्षकको पारिश्रमिक र सेवा सुविधामा सुधार गर्ने निर्णय गरेको छ ।

संघीय सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

त्यस्तै, माध्यमिक तह कक्षा ९-१० तथा आधारभूत तह कक्षा ६-८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय भएको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ । नेपाल र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न आवश्यक स्वीकृतिसमेत प्रदान गरिएको छ ।

प्रशासनिकतर्फ सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ । त्यस्तै, सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गरिएको छ ।

कानुनी सुधारअन्तर्गत भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न तयार गरिएका विधेयक संघीय संसद्मा पेस गर्न सरकारले अनुमति दिएको छ ।

अन्तर्राष्ट्रिय प्रतिनिधित्वसँग सम्बन्धित निर्णयमा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी गराउने प्रस्ताव स्वीकृत गरिएको छ ।

त्यसैगरी भारतमा आयोजना हुने सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप) को १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ ।

विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने क्रममा एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको शाखा कार्यालय नेपालमा स्थापना गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update