काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका लागि आवश्यक संरचना तयार पार्दै व्यवस्थापनसम्बन्धी काम अघि बढाउने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगनकुमार थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा आवश्यकताअनुसार अन्य सदस्य रहने व्यवस्था गरिएको छ ।
महाधिवेशनको तयारीलाई कार्यगत रूपमा अघि बढाउन मूल समितिले विभिन्न विषयगत उपसमिति बनाउने निर्णयसमेत गरेको छ । आवास तथा भोजन व्यवस्थापन, मञ्च तयारी, अतिथि सत्कार र स्वास्थ्य सेवासहित महाधिवेशन सञ्चालनसँग सम्बन्धित अलग-अलग जिम्मेवारीका लागि उपसमिति गठन गरिने कांग्रेसले जनाएको छ ।
उपसमितिहरूको कार्यक्षेत्र र जिम्मेवारीअनुसार संयोजक तथा सदस्य तोक्ने प्रक्रिया भने बाँकी रहेको छ । कांग्रेसका अनुसार ती उपसमितिमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली पछि सार्वजनिक गरिनेछ ।
महाधिवेशनको मूल व्यवस्थापन समितिमार्फत आवश्यक पूर्वतयारी, समन्वय र व्यवस्थापकीय कामलाई एकीकृत रूपमा अघि बढाउने पार्टीको योजना रहेको छ ।


