काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या तथा राजनीतिक स्थिरताका विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समापनमा बोल्दै थापाले सरकारलाई असफल बनाउने उद्देश्य कांग्रेसको नभएको स्पष्ट पार्दै सरकारका कामको गुण र दोषका आधारमा प्रश्न उठाउने बताएका हुन् ।
थापाले केही दिनअघि आफ्नो घर अगाडि गाडी तेर्स्याउन नेपाल प्रहरीकै व्यक्ति प्रयोग भएको दाबी गर्दै त्यसलाई शासकीय अराजकताको उदाहरणका रूपमा प्रस्तुत गरे ।
उनका अनुसार आफ्नो घरमा आगजनी भएपछि निजी सम्पत्तिमा थप क्षति नहोस् भन्नेमा आफू र परिवार सचेत थिए। त्यसै क्रममा घर जाने बाटोअगाडि एउटा गाडी रोकिएको र उक्त गाडीबारे बुझ्न परिवारका सदस्य ट्राफिक कार्यालय पुगेको उनले बताए ।
“मेरो जलाइएको घरअघि गाडी राखियो । निजी सम्पत्ति थियो, क्षति पुग्नुहुँदैन भन्नेमा सचेत थिएँ,” थापाले भने, “मेरो परिवारका सदस्य ट्राफिक कार्यालय गएर प्रश्न सोध्नुभयो- यो गाडी कसको हो ? हामी जान्न चाहन्छौं । तर हामीलाई बताइएन । केहीबेरपछि एकजनाले म चालक हो भन्नुभयो । चालक बनेर आउने व्यक्ति प्रहरी हुनुहुन्थ्यो ।”
गाडीको वास्तविक मालिक उपस्थित नभएको तर चालकका रूपमा प्रहरीका व्यक्ति आएको दाबी गर्दै थापाले सरकारलाई शासकीय अनुशासनमा रहेर काम गर्न आग्रह गरे । उनले राज्यका संयन्त्रलाई व्यक्तिगत वा राजनीतिक स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्ति बढ्दै गए त्यसले शासन प्रणालीप्रति नै अविश्वास पैदा गर्ने चेतावनी दिए ।
“यो शासकीय अराजकता हो,” थापाले भने, “शासकीय अराजकता रोकिएन भने यसले निल्छ ।”


