नेपाल न्युज प्वाइन्ट डटकम
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । कुल ८३ सदस्यीय प्रदेश सभामा मतदान प्रक्रियामा ७१ जना सांसद सहभागी भएका थिए ।

मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिएका छन् । सभामा बहुमत प्राप्त भएसँगै सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

सोमबारको बैठकमा ८ जना सांसद अनुपस्थित रहेका थिए । प्रदेश सभा सचिवालयको हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलादेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित भएका हुन् ।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् । कांग्रेसले समर्थन फिर्ता लिएपनि अन्य सत्ता साझेदार दलहरूको समर्थनमा मुख्यमन्त्रीले आफ्नो बहुमत सिद्ध गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update