नेपाल न्युज प्वाइन्ट डटकम
संसद्‍मा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरूले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‍मा प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमाोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’

सभामुखले प्रधानमन्त्री शाहलाई निर्देशन दिएलगत्तै विपक्षी दलहरूले टेबल बजाएर समर्थन गरेका थिए ।

गत १७ जेठमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । सो क्रममा शाहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गरेका थिए । साढे दुई महिनासम्म प्रधानमन्त्री शाहले यसबारे स्पष्टीकरण दिएका छैनन् ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update