काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको स्पष्ट पारेका छन् । काठमाडौंको सुकेधारामा संस्थापन इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले आफू कसैको धर्म वा समुदायको विरोधी नभएको पनि जोड दिए ।
सम्बोधनका क्रममा देउवाले नेपाल बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै सबैलाई धार्मिक स्वतन्त्रता सुनिश्चित हुनुपर्ने धारणा राखे । “म हिन्दु हुँ, तर म कसैको विरोधी होइन । नेपालमा मुस्लिम, किराँत लगायत विभिन्न धर्म मान्ने नागरिक छन् । सबैले आफ्नो धर्म मान्न पाउनुपर्छ,” उनले भने । उनले आफूलाई हिन्दु भनेर चिनाउन र आफ्ना धार्मिक अभ्यासहरू गर्न पाउने अधिकारमा कुनै अन्योल नरहनुपर्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा सहभागी एक प्रतिनिधिले ‘हिन्दु राष्ट्र’ सम्बन्धी धारणा सोध्दै दिएको लिखित जिज्ञासाको जवाफ दिँदै देउवाले राज्यको धार्मिक स्वरूप जनताको निर्णयमा निर्भर हुने बताए । “म व्यक्तिगत रूपमा हिन्दु परम्परा अनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु, पशुपतिनाथ मन्दिरमा पूजा गर्छु । तर देशको धार्मिक स्वरूप के हुने भन्ने विषय जनताले तय गर्ने हो,” उनले भने ।
त्यसै क्रममा देउवाले नेपालको न्यायालयप्रति आफ्नो उच्च विश्वास रहेको पनि व्यक्त गरे । विगतका विभिन्न राजनीतिक उतारचढावहरू स्मरण गर्दै उनले न्यायालयले आफूलाई पटक–पटक संरक्षण दिएको बताए । “पञ्चायतकालमा होस् वा शाही शासनका बेला, अदालतले नै मलाई न्याय दिएको हो। न्यायालयकै कारण म आज यहाँसम्म आइपुगेको छु,” उनले उल्लेख गरे ।
हालै उपचारका लागि सिंगापुर र हङकङमा करिब पाँच महिना बिताएर स्वदेश फर्किएका देउवाले आफूलाई स्वागत र सद्भाव व्यक्त गर्ने सबैप्रति आभार पनि प्रकट गरे । उनले विमानस्थलदेखि कार्यक्रमस्थलसम्म साथ दिनेहरूलाई आफूले कहिल्यै नबिर्सने बताए ।


