काठमाडौं : नेपाली कांग्रेसका इतर पक्षका नेता शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन् । शुक्रबार काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पार्टीलाई पराजित गर्न नसक्ने दाबी गरे ।
‘यो भेलाको आयोजना गर्नुपर्यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ कोइरालाले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’
कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो पुरानो सम्बन्धको प्रसंगसमेत सुनाए । उनका बुवा तथा कांग्रेसका नेता बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उनले स्मरण गरे ।
देउवा पहिलोपटक बनारस आउँदा आफूलाई उनलाई घुमाउन बीपीले भनेको कोइरालाले बताए। त्यस क्रममा देउवासँग आफूले तीनवटा सिनेमा हेरेको उनले सुनाए ।
‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो। त्यो दिन हामीले तीन वटा सिनेमा हेर्यौं ।’
कोइरालाले आफूहरूको नेता पनि शेरबहादुर देउवा नै भएको बताए ।


