काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
प्रस्ताव पेस गर्दै मन्त्री पौडेलले प्राकृतिक वा अन्य प्राविधिक कारणले उडान ढिलाइ भएमा दायित्व सिर्जना नहुने व्यवस्था विधेयकमा रहेको बताए। उनले युरोपको आकाशमा नेपाली विमानलाई उडान सुरक्षाको सूचिमा राखेको अवस्थामा सो सम्बन्धमा फुकुवाका लागि काम भइरहेको जनाउँदै अबको छ महिनाभित्र कामको नतिजा देखिने बताए ।
यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू सोनाम गेल्जेन शेर्पा, गीता देवकोटा, प्रेमप्रसाद दङ्गाल, पदमबहादुर परियार, सम्झना देवकोटा, भुवनबहादुर सुनार, युवराज शर्मा, रुक्मिणी कोइराला, नारायणदत्त मिश्रले आ-आफ्ना धारणा राखेका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ १ गते दिउँसो १:१५ बजे बस्नेछ ।


