नेपाल न्युज प्वाइन्ट डटकम
पत्रकार किशोर श्रेष्ठ पक्राउ र कार्यालय खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं : प्रेस काउन्सिल नेपालले पत्रकार किशोर श्रेष्ठको पक्राउ तथा सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको निजी निवास र ‘जनआस्था साप्ताहिक’को कार्यालयमा प्रहरीद्वारा गरिएको हस्तक्षेपबारे चिन्ता व्यक्त गरेको हो ।

बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिनुका साथै उनको घरमा खानतलासी गरिएको थियो । त्यसलगत्तै बिहीबार बिहानै प्रहरीले उक्त सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी कम्प्युटर लगायतका सामग्री जफत गरेको काउन्सिलले उल्लेख गरेको छ । 

काउन्सिलले पत्रकारिता क्षेत्रसँग सम्बन्धित विवाद समाधानका लागि विद्यमान कानुनी प्रक्रियातर्फ पनि ध्यानाकर्षण गराएको छ । कुनै सञ्चारमाध्यम वा पत्रकारले आचारसंहिता उल्लंघन गरेको ठानिएमा काउन्सिलमा उजुरी दिने व्यवस्था रहेको र सोही आधारमा स्वअनुगमन, मेलमिलाप, सचेत गराउनेदेखि प्रेस पास निलम्बन वा कालोसूचीमा राख्ने सम्मका कारबाही गर्न सकिने काउन्सिलले स्मरण गराएको छ ।

त्यस्तै, सञ्चारकर्मका क्रममा पत्रकार र सञ्चारकर्मीको व्यवहार, कार्यशैली तथा पेसागत मर्यादाप्रति काउन्सिल उत्तिकै संवेदनशील रहेको उल्लेख गरिएको छ । प्रेस स्वतन्त्रताको नाममा हुने सम्भावित दुरुपयोगप्रति सचेत रहन सबै सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।

काउन्सिलले सत्य, तथ्य र सन्तुलित पत्रकारितामार्फत पेशागत जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै कुनै समाचारप्रति असहमति वा गुनासो भए कानुनी प्रक्रियाअनुसार काउन्सिलमै उजुरी दिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

उक्त घटनासम्बन्धी पृष्ठभूमिमा, ‘जनआस्था साप्ताहिक’मा प्रकाशित एक समाचारले वैयक्तिक गोपनीयता भंग गरेको आरोपमा एक महिलाले उजुरी दिएपछि प्रहरीले पत्रकार श्रेष्ठलाई पक्राउ गरेको हो । सोही क्रममा प्रहरी टोलीले उनको घर र कार्यालयमा खानतलासी गरी केही सामग्री नियन्त्रणमा लिएको जनाएको छ ।

Council-1786618450.jpg
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update