काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेला साउन २९ गतेदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने भेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माका अनुसार कार्यक्रमको नेतृत्व आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले गर्नेछन् । पूर्वसभापति देउवालाई भेलाको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ भने उनले शुक्रबार दिउँसो १ बजे कार्यक्रमको उद्घाटन गर्नेछन् ।
उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरूले धारणा राख्ने कार्यक्रम तय भएको छ । त्यसपछि शनिबार र आइतबार दुई दिन बन्द सत्र सञ्चालन हुनेछ ।
आयोजकका अनुसार भेलामा करिब ४ हजार ६ सय नेता तथा कार्यकर्ताको सहभागिता अपेक्षित छ । सहभागीको संख्या बढेर ५ हजारभन्दा बढी पुग्न सक्ने अनुमानसमेत गरिएको छ ।
भेलामा छलफलका लागि प्रस्तुत गरिने प्रतिवेदनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । आयोजकका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिएर सार्वजनिक सञ्चारमाध्यमका लागि उपलब्ध गराउने तयारी भइरहेको छ ।
पार्टीभित्रको पछिल्लो राजनीतिक तथा संगठनात्मक अवस्थाबारे धारणा आदानप्रदान र आगामी रणनीतिमाथि छलफल गर्ने उद्देश्यले देउवा पक्षले भेला आयोजना गर्न लागेको हो ।


